(नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले पी.वी.को बैठक पश्चात् छलफलको लागि २०६८ भाद्र २७ मा सार्वजनिक गरेको खस जाति सम्बन्धी प्रस्ताव)
(Source: http://www.weeklynepal.com/index.php/2011-08-02-03-02-51/145-weekly/2011-08-09-01-40-49/2011-08-09-01-54-04/1817-2011-09-14-07-14-56)
खस जातिबारे नेपालमा गम्भीर प्रकारको विवाद उठिरहेको छ। प्रथम, खसहरूले लामो समयसम्म नेपालमा शासन गरे। उनीहरूले नेपालमा सामन्ती शोषण, उत्पीडन गर्दै आए र देशका कैयौं जाति, जनजातिहरूका भाषा, संस्कृति, धर्मलाई दवाए र आफ्नो भाषा, संस्कृति, धर्मको एकाधिकार कायम गर्दै आएका छन्। त्यसकारण उनीहरूप्रति देशका विभिन्न जनसमुदायहरूमा व्यापक असन्तोष र विरोधको भावना छ। द्वितीय, निर्वाचन आयोगले देशका सबै क्षेत्री वाहुन, आदिका साथै खसहरूलाई पनि 'अन्य' मा राखेको छ। त्यो व्यवस्थाका विरूद्ध खस क्षेत्रीहरूले आन्दोलन गरिरहेका छन्। उनीहरूले उनीहरूलाई आदिवासी र जनजातिको मान्यता दिन पनि माग गरिरहेका छन्। तृतीय, अहिले देशमा खस भन्नाले खस क्षत्रीहरूलाई लिने धारणा पनि पाइन्छ, जब कि खस भन्नाले ब्राह्मण, ठकुरी, दलितका विभिन्न थरहरू पनि आउँछन्।
ने.क.पा. (मसाल) ले उक्त प्रश्नहरूमा आफ्नो स्थिति स्पष्ट गर्नु आवश्यक ठान्दै निम्नलिखित प्रस्ताव पारित गरेको छ। पार्टीले यसबारे खुला बहस चलाउने निर्णय गरेको छ। पार्टी सदस्यहरूलाई पनि यसबारे खुला प्रकारले यसका पक्षमा वा विपक्षमा आफ्नो मतहरू प्रकट गर्ने अधिकार हुनेछ। त्यस प्रकारको बहसपछि केन्द्रीय समितिको अर्को बैठकले यसबारे अन्तिम निर्णय लिनेछ।
खस जाति विश्वको नै एउटा प्राचीन र प्रागऐतिहासिक जाति हो। इतिहास विद्हरूको मत अनुसार खसहरू मूल रूपमा मध्यएशियाका वासिन्दाहरू थिए। उनीहरूको मूल वासस्थान यूरोप र एशिया महादेशको सीमामा रहेको ककेसस पर्वत मालाको क्षेत्र वा आधुनिक टर्की, इरान र रूसको आसपासको भूभाग हो। प्राचीन कालमा उनीहरूको वेविलोन, मेसोपोटामिया आदि स्थानहरूमा उपस्थिति रहेको पाइन्छ। वेविलोन, मेसोपोटामिया भनेका वर्तमान इराक, इरानका आसपासका क्षेत्रहरू हुन्। आर्यहरूको एउटा शाखाले पश्चिमबाट सिन्धुघाटी हुँदै गंगा–जमुनाको मैदानमा प्रवेश गर्यो। खसहरू उत्तरी पहाडको बाटो पूर्वतिर लागे। उनीहरू मध्यएसियाबाट हिन्दूकुश, काश्मीर, गढवाल, कुमाउँ हुँदै नेपालमा फैलिए। पूर्वमा उनीहरू सिक्किम, भूटान, आसाम, मेघालयसम्म फैलिएका थिए।
आर्यहरूको जुन शाखाले गंगा–जमुनाको समतल क्षेत्रमा प्रवेश गर्यो, उनीहरूले वेद र हिन्दू धर्म मान्दथे। उनीहरू इतिहासमा वैदिक आर्यका रूपमा चिनिन्छन्। उत्तरी पहाडको बाटो हुँदै पूर्वतिर लागेका आर्यहरूले वेद वा हिन्दू धर्म मान्दैनथे। उनीहरूलाई खस आर्य भन्न सकिन्छ। पछि खस आर्यहरूको वसोवास भएका उत्तरी पहाडहरूमा पनि वैदिक आर्यहरूको प्रभूत्व बढ्दै गयो र खसहरू माथि पनि उनीहरूले प्रभाव जमाउँदै गए। तर खसहरूले सजिलैसित वैदिक आर्यहरूको प्रभूत्वलाई स्वीकार गरेका थिएनन्। हिन्दू पुराणहरूमा वैदिक आर्य र खस आर्यहरूका बीचमा लगातार युद्धहरू भएका कैयौं विवरणहरू पाइन्छन्।
हिन्दू धर्म शास्त्रहरूले वेद वा हिन्दू धर्मलाई नमान्ने अन्य सबै जातिहरूलाई शुद्र, म्लेच्छ बताउने गर्दथे। त्यस अनुसार मनुस्मृति र अन्य पौराणिक ग्रन्थहरूले हिन्दू धर्म नमान्ने खस, किरात, पौन्ड्रक, द्रविड, यवन, कम्वोज, शक, हुण, पल्हव, काची, चीन, दरद आदिलाई पनि म्लेच्छ वा शुद्रको संज्ञा दिए। वास्तवमा वैदिक आर्यहरूले आफ्नो प्रभूत्व कायम गर्न खस सहित अवैदिक आर्यहरूका विरूद्ध लामो र कडा संघर्ष गर्नु परेको थियो।
रामायण, महाभारत सहित पुराणहरूमा त्यसबारे विस्तृत चर्चा गरिएको छ। वायु पुरायणमा कलियुगको अन्तमा कल्किद्वारा खस, शक, पवन, गन्धर्व, कात, पल्लव आदिलाई नष्ट गरिने भविष्यवाणी गरिएको छ। त्यसले हिन्दू र अन्य गैर–हिन्दू जातिहरूका बीचमा लामो समयसम्म अत्यन्त गहिरो र शुत्रतापूर्ण सम्बन्ध भएको कुरा बुझिन्छ, जसमा खस पनि पर्दछन्। अन्तमा खस आर्यहरूले कैयौं जातिहरूले जस्तै आत्मसमर्पण गर्दै र हिन्दू धर्म अपनाएर आफूलाई हिन्दुकरण गर्दै गए। त्यो क्रममा खसहरूले आफूलाई हीन ठान्न थाले र स्वयं आफ्नो जातीय पहिचानलाई पनि स्वयं आफ्नो जाति पहिचानलाई पनि बदलेर कैयौं हिन्दू थर र संस्कारहरू अपनाउँदै गए। त्यस प्रकारको पृष्ठभूमिमा खसहरूको अवैदिक वा हिन्दु धर्म विरोधी पहिचान समाप्त हुँदै गयो।
हिन्दु ग्रन्थहरूमा प्राचीन कालदेखि नै खसहरूको उल्लेख गरिएको पाइन्छ। त्यसअनुसार मुनस्मृति, रामायण, महाभारत, व्रह्मपुराण, हरिवंश पुराण, मार्कण्डेय पुराण, भगवत पुराण, स्कन्द पुराण, भविष्य पुराण, कल्किपुराण, वृहत्संहिता, काश्यपसहिंता, मुद्रा राक्षस, भरतको नाट्य शास्त्र, वौद्ध ग्रन्थहरू, अशोका वदन दित्यावदान, ललित विस्तार, काश्मिरको राजतरंगिणी आदिमा खस जातिको उल्लेख भएको छ। त्यसबाट खस जाति प्राचीन कालदेखिको नै उत्तरी हिमालय, नेपाल र भारतको समेत एउटा प्रसिद्ध जाति भएको कुरामा कुनै शंका रहन्न।
ती सबै कुराहरूमाथि विचार गर्दा इतिहासमा खसहरू स्पष्ट रूपले वैदिक आर्यहरू होइन, किरात, पौन्ड्रक, द्रविड, यवन, कम्वोज, शक, हुण, पल्हव, काची, चीन, दरद आदिको समुहमा उभिएको देखिन्छन्। पछि यहाँ उल्लेख गरिएका जातिहरू मध्ये कैयौं जातिहरूको अहिले कतै पृथक अस्तित्व देखिंदेन। उनीहरूको क्रमशः वैदिक आर्यहरूमा नै समावेश हुँदै गएको देखिन्छ। खसहरूको पनि हिन्दूकरण हुँदै गएपछि त्यसको प्रिथक पहिचान कम हुँदै गयो। तैपनि ऐतिहासिक तथ्यहरूका आधारमा खस जाति मूल रूपमा हिन्दू जाति नभएर गैर–हिन्दू जाति भएको कुरामा शंका रहन्न। स्वयं हिन्द शास्त्रहरूले पनि उनीहरूलाई गैर–हिन्दू वा शुद्र, म्लेच्छ जातिका रूपमा नै व्याख्या वा प्रस्तुत गर्दै आएका छन्।
पश्चिम नेपालमा १२ औं शताब्दिदेखि खस राज्यको प्रारम्भ भएको देखिन्छ। तर उनीहरू नेपालमा प्रवेश गर्नेवित्तिकै अवस्य शासकहरू भएका थिएनन्। नेपालमा प्रवेश गरेपछि शासक बन्नका लागि उनीहरूलाई कैयौं शताब्दि लागेको हुन सक्दछ। उनीहरूले सर्वप्रथम कहिले नेपालमा प्रवेश गरे? इतिहासकारहरूले त्यसबारे बेग्लाबेग्लै मतहरू प्रकट गर्दै आएका छन्। कतिपय इतिहासकारहरूले पाँचौं शताब्दिदेखि नेपालमा वसोवास गर्दै आएको बताउँछन् भने कतिपयले ई.पू. २००० वर्ष पहिले नै उनीहरूको नेपालमा आवागमन भएको बताउँछन्। त्यस सिलसिलामा यो मत पनि प्रकट गर्ने गरेको पाइन्छ: प्रागऐतिहासिक कालमा नै दुईवटा मुख्य जातिहरूले नेपालमा प्रवेश गरेका थिए – किरात र खसहरूले। किरातहरूले उत्तर पूर्वमा र खसहरूले नेपालको पश्चिमबाट नेपालमा प्रवेश गरेका थिए। नेपालमा खसहरूले सर्वप्रथम कहिले प्रवेश गरेका थिए? त्यो ऐतिहासिक अध्ययन र अनुसन्धनको विषय हो।
खसमा पहिले वर्णव्यवस्था थिएन। हिन्दूहरूको प्रभावमा आएपछि उनीहरूले पनि वर्णव्यवस्थाको अनुकरण गर्न थाले। उनीहरूमा पनि ब्राह्मण, ठकुरी, क्षेत्री, दलितका रूपमा बाँडिन थाले। निश्चय नै कैयौं शताब्दीहरूको विकासक्रम वा हिन्दूहरूसितको हेलमेलको क्रममा नै उनीहरूले त्यस प्रकारको वर्णव्यवस्थालाई अपनाउँदै गएका थिए। गढवाल, कुमाउँ वा कर्णाली प्रदेशका विभिन्न गाउँहरूका नामहरू अनुसार उनीहरूको थरहरूको नामाकरण हुँदै गयो। हिन्दू धर्मको असरमा परेर खस जातिभन्दा हीन ठानिने भएकाले सत्तामा पुगेपछि वा केही सम्पन्न भएपछि कैयौं मानिसहरूले हिन्दू वर्णाश्रम अनुसार आफ्नो उच्च जाति देखाउन थाले। कतिपय राजाहरूले चितौडका राजपुतहरूसित जोडेर आफ्ना वंशावली तयार पार्न थाले।
आज कैयौं संगठनहरूले खस जातिलाई आदिवासी र जनजातिको मान्यता दिनुपर्दछ भन्ने कुरा पनि उठिरहेको छ। नेपालमा उनीहरू लामो समयसम्म सत्तारूढ भएको तथा उनीहरूको विकासको अवस्था माथि विचार गर्दा उनीहरूलाई जनजाति भन्न मिल्दैन। कुनै जाति जनजाति हो वा होइन? त्यसको निर्धारण गर्न एउटा निश्चित प्रकारको मापदण्ड अपनाउनु पर्दछ। त्यस अनुसार नै देशको कुनै जाति जनजाति भएको वा नभएको छुट्टाउनु पर्दछ।
जहाँसम्म खसहरू आदिवासी हुन् कि होइनन् भन्ने प्रश्न छ, त्यो इतिहासको अध्ययन गरेर टुंगाउने प्रश्न हो। इतिहासको सरसरी अध्ययन गर्दा खस जाति विश्वका प्राचीन जातिहरू मध्येमा एउटा भएको कुरामा कुनै शंका रहन्न। उत्तरी हिमालय र पहाडहरूमा पनि उनीहरूले प्राचीन कालदेखि नै वसोवास गर्दै आएको कुरा देखिन्छ, जसमा नेपालका पहाडि भागहरूपनि सामेल छन्। नेपालका आदिवासीहरू कुन्–कुन् हुन् र तिनीहरूमा खस जाति पर्दछ वा पर्दैन? त्यो कुरा पनि इतिहासको अध्ययन गरेर टुंगाउने कुरा हो र त्यसरी नै त्यसबारे निर्णय गरिनु पर्दछ।
निर्वाचन आयोगले खस जातिलाई 'अन्य' जाति अन्तर्गत राखेको छ। त्यस प्रकारको नीति कुनै तर्क वा न्यायपूर्ण आधारमा निश्चित गरेको देखिन्न। त्यसकारण सम्बन्धित सबै कुराहरूमाथि विचार गर्दै त्यो नीतिबारे पुर्नविचार गर्नुपर्ने आवश्यकता देखिन्छ। समावेशीकरण बारे विचार गर्दा पनि खस जातिको ऐतिहासिक पृष्ठभूमि, देशको ठूलो भूभागमा उनीहरूको वसोवास वा जनसंख्यामाथि विचार गरेर उनीहरूलाई पनि अन्य जाति सरह आवश्यक प्रतिनिधित्व दिनुपर्ने आवश्यकता देखिन्छ र त्यसबारे उनीहरूप्रति गरिने भेदभावलाई सही भन्न सकिन्न।
देशमा भएका विभिन्न जात, जाति वा जनजातिहरूलाई मानव सूचकांकका आधारमा मूल्यांकन गरेर पिछडिएका जात, जाति वा जनजातिहरूलाई विशेष सुविधा र आरक्षण दिने नीति अपनाउनु पर्दछ। तर खस जाति त्यस प्रकारको पिछडिएको श्रेणीमा पर्दैन र त्यसलाई विशेष सुविधा वा आरक्षण दिने नीति अपनाउनु सही हुनेछैन। तर त्यो कारणले खस जाति अन्तर्गतका दलित जातलाई विशेष सुविधा र आरक्षण दिन हुन्न भन्ने होइन। त्यस प्रकारको मानव सूचकांक माथि विचार नगरिकन खालि जातीय आधारमा कुनै जातिलाई विशेष सुविधा वा आरक्षण दिने नीति पनि सही हुँदैन।
मानव सूचकांकका आधारमा पिछडिएका जात वा जातिको एउटा सूची तयार पारिनु पर्दछ र त्यस अनुसार उनीहरूलाई विशेष सुविधा वा आरक्षण दिने नीति अपनाइनु पर्दछ।
No comments:
Post a Comment